कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो ।
त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र ६ जनामा डेंगु सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो।
प्रदेशको राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको उहाको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेंगु सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेंगु देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना डेंगुबाट सङ्क्रमित भएका थिए ।
अक्टुबरमा छ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा नौ सय ४७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा तीन हजार आठ सय १७, पर्वतमा एक हजार चार सय ३१, बागलुङमा एक हजार तीन सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा सात सय २६, म्याग्दीमा चार सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा छ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो। setopati