काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताउनुभएको छ। शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताउनुभएको हो।
उहाँले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको आरोप लगाउनुभयो।
नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन । मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरणमात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो अतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ’, उहाँले भन्नुभयो ।
वर्षैपिच्छे सरकार बनेको भन्दै उहाँले वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो भन्ने आशङ्का गर्नुभयो। रातोपाटी