काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल बिहान पौनेे १० बजेदेखि सुरू हुनेछ ।
नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाल पहिलोपटक ब्लाइण्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो ।
पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।
तर सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताउनुभयो। ‘पाकिस्तान हामी भन्दा धेरै बलियो टिम भएता पनि आफूलाई कमजोर नमानी उच्च मनोबलका साथ खेल्नेछौं’ उहाँले भन्नुभयो, ‘ब्याटिङ लाइन बलियो बनाएर २०० टार्गेट दिने लक्ष्य छ । त्यसो भयो भने खेल प्रतिस्पर्धात्मक हुन्छ ।’
यस्तै कप्तान रमेश बानियाले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । ‘पहिलो पटक सेमिफाइनल खेल्दैछौँ । हाम्रोतर्फबाट फिल्डिङ बलिङ ब्याटिङ सबै क्षेत्रमा शतप्रतिशत दिनेछौँ’ उहाँले भन्नुभयो, ‘उनीहरुले कस्तो खेल्छ भन् गेम हेर्नेलाई थाहा छ । तैपनि हामीले हार मानेका छौँ । उनीहरुलाई ठूलो टार्गेट दिने गरी हामीले तयारी गरेका छौँ ।’ अनलाइनखबर