नेपालगन्ज – नेपालगन्जमा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना लागेको हो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको छ।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध , महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो र सिम्रिक रातो रंग समेटिएको छ आयोजक अन्तरालले जनाएको छ।
फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टोलीको सहभागिता रहने बताइएको छ।
महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो। ‘लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टोलीलाई पनि आमन्त्रण गर्नेछौं ,’ शाहले भन्नुभयो।
उहाँले पश्चिम नेपालको गौरवको रुपमा सुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यको लागि अपिल पनि गर्नुभएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सीर्जना गर्ने बताउनुभयो। प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका शाहीले बताउनुभयो ।
नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुसीको बिषय भएको कप्तान एन्जिलाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’
महिला टोलीकी पहिलो कप्तान सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिनुभयो । उहाँले भन्नुभयो ‘नेपालमा महिला फुटबल सुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ । यसले निरन्तरता पाओस्। सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’ हाम्रो खेलकुद