हुम्लामा हिमपात : पुसको हिउँ सिला, माघको हिउँ बिला

  म्याग्दी न्युज संवाददाता

हुम्ला । पुराना पुस्ताहरूको भनाइ छ, ‘पुसको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि पुस महिनामा हिउँ परेपछि हुम्ली किसानहरू खुसी छन् । पुस महिनाबाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन् ।

हिउँबिना हुम्लीको जीवन चल्दैन भन्दा पनि हुन्छ । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ

हुम्लामा हिउँ नआएपछि मंसिर महिनामा छरेको उवा जौं, गहुँ राम्रो नहुने सिमकोट गाउँपालिका-६ की गीता रावत बताउनुहुन्छ । ‘सिँचाइ छैन समयमै हिउँ परेपछि अन्नबाली राम्रो हुन्छ यस वर्ष पुस महिनामै हिउँ परेपछि जमिन चिसो भइरहन्छ’, रावतले भन्नुभयो।

पुस महिनामा हिउँ पर्नु  हुम्ली जनताका लागि शुभ सङ्केत भएको बताउँछिन् सिमकोट -६ की रूपसी रोकाया । पहिले ४/५ फिट हिउँ पर्ने गरेको बताउँदै उनले अहिले एकदुई फिट मात्रै हिउँ पर्ने गरेकोले किसानमा चिन्ता थपिएको बताउनुभयो ।

उहाँका अनुसार पुसमा हिउँ परेपछि मंसिर महिना बारीमा छरेको उवा,जौ,गहुँ राम्रोसँग उम्रिन्छ । जेठ महिनामा पाक्छ । हिउँ ढाल परेपछि बालिनाली राम्रो हुँदैन । ‘पहिला- पहिला प्रत्येक वर्ष ५/७ फिटसम्म हिउँ आउथ्यो । पछिल्ला समय   जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् ’, उहाँले थप्नुभयो ।

पुस महिनामा हिउँ खेतीपाती मात्रै नभइ जडीबुटीका लागि पनि अत्यावश्यक हुने गरेको स्थानीयहरूको भनाइ छ । तर, भारी हिमपात हुँदा केही दिन जनजीवन भने प्रभावित हुने गरेको छ ।

हुम्ला सदरमुकाम सिमकोटमा बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । सिमकोटमा एक फिट जति हिउँ जमेको छ ।  हुम्लाको तापक्रम माइनस ७ डिग्री छ ।

उत्तर हुम्लाको नाम्खा गाउँपालिकाको लिमीका जाङ, हल्जी, तिल, यारी, मुचु, तुम्कोट, याङगार, याल्वाङ, चाला, केर्मी र हेप्कालगायतका बस्तीमा तीन फिटसम्म हिउँ जमेको छ । हिमपातसँगै न्यालु लेखको बाटो बन्द हुदाँ लिमीका स्थानीयवासी सदरमुकाम सिमकोट आउन सकेका छैनन् । अनलाईन खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार