म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित बाँसबोटकी मृगौला रोगबाट पीडित तुलकुमारी पुनको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । निस्कोट घर भई हाल विभिन्न शिलशिलामा अमेरिकामा बसोबास गर्ने निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाले मृगौला रोगी पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त आर्थिक सहयोग रकम वडा अध्यक्ष टंकप्रसाद पुनले शुक्रबार एक कार्यक्रमका विच पोखरामा पीडित पुनलाई हस्तान्तरण गर्नुभयो ।
सहयोगीदाताहरुलाई धन्यवाद दिंदै वडा अध्यक्ष पुनले आफुले व्यक्तीगत र वडाबाट पीडित पुनको उपचारमा सक्दो आर्थिक सहयोग गर्ने तथा थप सहयोग र उपचारमा सहजिकरणका लागि गाउँपालिका एवं प्रदेश सरकार समक्ष पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा क्षेत्र ( ख ) का सभापति समेत रहनुभएका वडा अध्यक्ष पुनका अनुसार, समाजका अध्यक्ष लालबहादुर पुन लगायत अमेरीकामा बस्ने निस्कोटबासीबाट उपचारमा सघाउन उक्त आर्थिक रकम सङ्कलन गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा कास्की पोखरा स्थित मणिपाल अस्पतालमा जचाउन आउँदा चिकित्सकले मृगौला फेल भएको रिर्पोट दिएका थिए । पुनको यस अघि वि.सं.२०६४ बायाँपट्टीको मृगौला फेल भएको थियो । त्यतिखेर पनि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको पीडित पुनले भनाइ छ । पीडित पुनले कास्कीको लेखनाथ स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलिसिस गराउँदै आउनुभएको छ ।
५३ वर्षिया पुनका दुई छोरी र एक छोरा हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उचारमा समस्या हुने गरेको पीडित पुनले दुखेसो पोख्नुभयो । सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आफुलाई बचाइदिन थप सहयोगका लागि सबैलाई अपिल गर्नुभयो । निस्कोट समाज अमेरिकाले यसअघि पनि गाउँमा विभिन्न रोगका विरामी र आगलागी पीडितलाई समेत सहयोग गर्दै आइरहेको छ । पीडित पुनले आफन्त र सहयोगीदाताहरुको भरमा उपचार र दैनिकी खर्चको जोहो गर्दै आउनुभएको छ ।