
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङका ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारहरुलाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिका लगायत विभिन्न देशमा रहेका वडाबासीबाट संकलित ६ लाख चालीस हजार ६ सय ३८ रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त भएको हो । उक्त आर्थिक सहयोग रकम सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पीडित परिवार र आफन्तलाई वडा अध्यक्ष अकप्रसाद बिक र समाजसेवी ज्ञानबादुर पाइजाले हस्तान्तरण गर्नुभयो ।
यही चैत महिनाको ७ गते लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै भएको ट्याक्टर दुर्घटना हुँदा सोही लुलाङ गाउँका १८ वर्षिय देविन बिक र २१ वर्षिय पुर्णलाल रसाईलीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । त्यसैगरी सोही वडा स्थित खोरियाका गोकुल पाइजाको केही महिना ट्याक्टर दुर्घटनामा मृत्यु भएको थियो ।
सबै मृतक परिवारलाई जनही एक लाख एक हजार पाँच सय रुपैयाँका दरले वितरण गरिएको छ । घाइतेहरु सोही वडाका कविराज विक र कमल विक तथा मालिका गाउँपालिका–६,दरबाङका विकास बिकलाई जनही एक लाख एक हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । भने सामान्य घाइते हुनुभएका धवलागिरी गाउँपालिका–४,का किस्मत बिकलाई २२ हजार रुपैयाँ सहयोग गरिएको छ । मृतक पुर्णलालका बुबा शेरबहादुर बिकले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष बिक र समाजसेवी पाइजाले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । वडा अध्यक्ष बिकले कोरोना प्रकोपको समयमा पनि प्रवासमा रहेका वडाबासीले आर्थिक सहयोग गरेको वडा अध्यक्ष बिकले बताउनुभयो । वडा अध्यक्ष बिकले पीडित परिवारलाई आर्थिक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । वडा कार्यालय सहयोगी सोम श्रीपालीले कार्यक्रम संचालन गर्नुभएको थियो ।