अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima Rinje)गत चैत्र २५ गते बिहानदेखि सम्पर्कविहिन हुनुभएको थियो ।

मौसम खराबीको कारण हाल केही समयका लागि खोजीकार्य स्थगित गरिएको सेभेन समिट ट्रेकले जनाएको छ । पहिरोमा बेपत्ताकाको खोजीका लागि ५ शेर्पाहरूको सहयोगमा २ वटा खोज हेलिकप्टर तैनाथ गरिएको थियो । हिँउपहिरोमा हराएपछि निरन्तर हेलिकोप्टरबाट खोजी र उद्धार कार्य भएपनि फेला पार्न नसकिएको सेभेन समिट ट्रेकले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ । सेभेन समिटले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ,‘‘हामीले अथक प्रयास गर्दा पनि फेला पार्न सकेनौ, हिउँ र बरफको ढिस्कोमुनि अब यति लामो समयसम्म बाँच्न सम्भव छैन ’’ ।

हेलिकप्टर, ड्रोन क्यामेरा सहित अन्य उपकरणहरु समेत प्रयोग गरिएको थियो । बेपत्ता निग्मा तासी र रिमा रिन्जेको टोलीसँगै आरोहणका लागि क्याम्प ३ मा पुगेका ४ जना आरोहीहरूलाई हेलिकोप्टरको सहयोगबाट आधार शिविर झारिएको छ । हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका यात्राका लागि सहज हुने भ¥याङ सहित डोरी र अन्य संरचनाहरु समेत छियाछिया भएकाले थप तयार गरी आरोहण गर्नुपर्ने अवस्था रहेको अन्नपूर्ण आधार क्षेत्रमा रहेका आरोही दलका सदस्यहरुको भनाइ छ । यसै साता सोमबार बिहान एकैपटक ३२ जनाले हिमाल आरोहण गर्न सफल भएका थिए ।

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । नेपालमा रहेका हिमालहरु मध्ये जोखिममा अन्नपूर्ण पनि पर्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेको अन्नपूर्ण प्रथमलाई नेपालको जेठो हिमाल भनिन्छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर)मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार