
म्याग्दी । आजदेखि विक्रम संवत् २०८२ साल प्रारम्भ भएको छ । वर्ष २०८१ लाई बिदाई गरेको पहिलो दिन आज वैशाख १ गते । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । नयाँ वर्षको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर आजका दिन नयाँ जोश र जाँगरका साथ नयाँ कामको थालनी ,योजना निर्माण एव संकल्प गर्ने परम्परा समेत रहेको छ ।
विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवतलाई विक्रम संवत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । विक्रम संवत् १३५ देखि शक संवत् ,संवत् ६३३ देखि मानदेव संवत् , विक्रम संवत् ९३६ देखि नेपाल संवत् चलेको हो । यी संवत् मध्ये अहिले मानदेव संवत्को चलन हराइसकेको छ ।
विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ।