मायालुको शहर बेनी “गद्य कविता”

  याम बहादुर थापा मगर

म्याग्दीको मुटु, झिले मिले झाले रुमाल जस्तै परेलाबाट हेरिँदा मुस्कुराउने बजार।
कालीगण्डकी र म्याग्दी खोलाको समागममा बसेको शहर, जहाँ पानीले बगाउँछ केवल नदी होइन, मन पनि।
जता माया, उतै नजर—यही हो बेनीको जादू।

सहरको मुटुमा प्रेमको स्पन्दन छ,
जहाँ लभली हिल चुपचाप हेर्छ बेनीलाई,
जस्तै घोरेपानी डाँडाले हेरिरहे झैं आकाश।
लभली हिल—प्रेमको डाँडा, जहाँ जोडीहरू समय बिर्सेर भविष्यको सपना बुन्छन्।
बुट्टा कोरेजस्तो बाटो, मुस्कान जस्तो मौसम,
अनि हावामा मिसिएको सुरिलो माया।

बेनीको गल्लीहरूमा लुकेका छन् स्मृतिका पदचिह्न,
हरेक कुना–कुना आश्चर्यले भरिएका छन्।
चिया पसलको गफमा, होटलको झ्यालमा,
अनि पुल पारि उभिएको सहरको दृश्यमा
संसारको हरेक कुनाबाट आउने पर्यटकको मन बेनी मै बाँधिन्छ।

सुन्दर, मनमोहक, शान्त अनि जीवित
यो शहर केवल स्थान होइन, भावना हो।
प्रेममा चुलिएको डाँडा, सपनाले भरिएको हिल,
अनि नयनले छोएको बेनी बजार।

बेनी आउनु भनेको आत्मामा संगीत बसाल्नु हो।
यहाँको माया एक पटक छोयो भने,
नजर फर्कदैन, मन फर्कदैन।
यहाँ प्रेम हराउँदैन, गाढा हुन्छ।
मायालुको शहर बेनी, तिमी साँच्चै गद्य कविता हौ।
बोल्ने, बहने, र स्पर्श गर्ने लिभ्ली डाडाँ
मायालु बेनी बजार

बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर, बागलुङ ९८४७६५७३००

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार