काठमाण्डौ ,शनिबार जेठ ०३ गते । नेपालमा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभएको थियो । २५ गते डिस्चार्ज भएर घर फर्कनुभएको थियो ।
तर उहाँलाई ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको ३ दिनपछि उहाँको निधन भएको हो।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उहाँको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उहाँको रिपोर्ट पोजेटिभ नै आएको छ । मन्त्रालयले नेपालमा कोभिड १९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको जनाएको छ ।
यसैबीच थप दुई जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । ३६ जना निको भएका छन् ।