काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले बाटोमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
हरिपुर नगरपालिका–१ हजारबिगहा बस्ने अन्दाजी ४६ वर्षीय वाग्ले बुधबार राति पौने ९ बजे मुर्तिया वन कार्यालयनजिक जंगलमा मृत भेटिएका थिए। बरहथवा नगरपालिका-९ मुर्तिय वन कार्यालय नजिकबाट नयाँ रोड जाँदै गरेको ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
प्रहरी निरीक्षक दिपक चोरवारका अनुसार उनको मोटरसाइकल अनियन्त्रित भइ पल्टिरहेको अवस्थामा स्थानीय प्रकाश कार्कीले देखेका थिए। उनले देखेपछि इलाका प्रहरी कार्यालय बरहथवाको टोली खटिएको थियो । उनलाई प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र पठाएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । वाग्ले नेकपाको प्रचण्ड-नेपाल समूहका नेता हुन्। सेतोपाटीबाट