![](https://myagdinews.com/wp-content/uploads/2021/03/nillgaaii.jpg)
महोत्तरी । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमा नाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतबारीमा लगाइएको दलहन, तेलहन र तरकारी बालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका– २ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।
दर्जनौको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वन क्षेत्रमा निलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।
गर्मी यामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र (जङ्गल) मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ । रासस