
म्याग्दी । ‘चेतना जगाऔँ युवा बचाऔँ बालविवाह र दुर्व्यसन आजै हटाऔँ’ भन्ने मूल नारासहित बेनी नगरपालिकामा आयोजित सडक नाटक ‘बिहानी’ सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा धौलागिरि नाट्य समूहको आयोजनामा बेनी बजार, अर्जम र पुलाचौरका सामुदायिक विद्यालयमा नाटक प्रदर्शन गरिएको हो ।

नाटकमार्फत बालविवाह र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरलाई यथार्थपरक रूपमा प्रस्तुत गर्दै युवालाई जिम्मेवार, सचेत र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको थियो ।

नाटकमा बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने दीर्घकालीन असर तथा लागूऔषध दुर्व्यसनले परिवार र समाजमा निम्त्याउने समस्यालाई प्रभावकारी रूपमा चित्रण गरिएको थियो । प्रस्तुतीमार्फत समयमै सचेत भए स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो ।

धौलागिरि नाट्य समूहका सचिव अमित विश्वकर्माले कला समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सडक नाटक मनोरञ्जनको माध्यम मात्र होइन, समाजलाई सोच्न र परिवर्तनतर्फ प्रेरित गर्ने सशक्त अभियान पनि हो । ‘बिहानी’ मार्फत विशेषगरी युवालाई बालविवाह र दुर्व्यसनबाट टाढा रहन तथा उज्ज्वल भविष्यतर्फ अघि बढ्न आग्रह गरेका छौँ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यस्ता कार्यक्रमको आवश्यकता अझ पुष्टि गरेको छ ।”

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक सुधारका अभियानमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्न भयो, “बालविवाह र दुर्व्यसनजस्ता सामाजिक विकृतिको अन्त्य कानुनले मात्र सम्भव हुँदैन । त्यसका लागि समुदायस्तरमै चेतना विस्तार हुन आवश्यक छ । ‘चेतना जगाऔँ, युवा बचाऔँ, बालविवाह र दुर्व्यसन आजै हटाऔँ’ अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्ता सिर्जनात्मक कार्यक्रमले नयाँ पुस्तालाई सही बाटो रोज्न प्रेरणा दिने विश्वास लिएका छौँ ।”
कार्यक्रममा ‘Say No to Drugs’ लगायतका सन्देश समेटिएका दृश्य प्रस्तुति र संवादमार्फत लागूऔषधविरुद्ध स्पष्ट जनचेतना फैलाइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रम विद्यालय तथा समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
बेनी नगरपालिकाले सामाजिक रूपान्तरणका अभियानलाई प्राथमिकतामा राख्दै कला र संस्कृतिमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई आर्थिक सहयोग गरेको जनाएको छ ।





































