
मकवानपुर । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहे ।
प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्रै मतदान गरेका हुन् । १०९ सांसदमध्ये १०५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनामात्र उपस्थित रहे ।१४४ मत भार रहेको विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।
उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानको नतिजा आजै आउने बताइएको छ । मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल सुरु गरिनेछ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ । उनका अनुसार आज साँझसम्म नतिजा आइसक्नेछ ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो । मतदान कोरोना कहरका कारण आवश्यक सबै मापदण्ड अपनाएर गरिएको थियो । मतदानका लागि कोभिड सङ्क्रमित मतदातालाई भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश दिइएको थियो भने अन्यले पश्चिम गेटबाट प्रवेश पाएका थिए । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइएको थियो । सुरुमा पीसीआर रिपोर्ट अनिवार्य भनिएपनि पछि रिपोर्टबिनै पनि मतदान गर्न दिइने निर्णय भएको थियो ।
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा। खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ । माधव नेपाल पक्षका केही मतदाताले पार्टीको ह्वीप विपरीत डा। देवकोटालाई समेत भोट हालेकाले कसको जित हुन्छ, अहिल्यै भन्न नसकिने नेताहरु बताउँछन् । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । रातोपाटीबाट