झापा । झापाको शिवसताक्षी नगरपालिकामा आइतबार बिहान राति आगलागी हुँदा दुई वटा काठका घर जलेर नष्ट भएको छ।२ नम्बर वडास्थित मंगलबारे बजारका नेत्र चिमरिया र उनका छिमेकी नन्दकला राईको घर आगलागी भएको हो।
शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुल बहादुर बस्नेतले राति साढे १ बजे फैलिएको आगोले चिमरिया र राईको घर खरानी भएको बताउनुभयो।धनमाल केही निकाल्न सकिएन,’ वडाध्यक्षको बस्नेतले भन्नुभयो।
मंगलबारे बजारका स्थानीयले आगो लाग्यो भन्दै कराएपछि घरमा सुतेका उनीहरू उठेर भाग्न सफल भएका हुन्।झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए।आगलागीबाट चिमरियाको घरमा बहालमा रहेको दुर्गा बुढाथोकीको होटल समेत जलेर नष्ट भएको छ।
यस्तै, राईको घरमा भएको रासायनिक मलको पसल र सिलाई कटाई टेलरिङ पसल समेत जलेको छ। टेलरिङ पसलको २५ वटा सिलाई मेसिन जलेर कामै नदिने भएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
आगलागी के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीले घटनाको विवरण संकलन गरिरहेकोले के कति क्षति भयो भन्ने विषयमा पनि केही खुल्न नसकेको वडाध्यक्षको बस्नेतले बताउनुभयो। सेतोपाटीबाट