
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीका निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको छ ।
२४ घन्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी ३ मन्त्री र ३ जना राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ बहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लाल बहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराजलाई पनि निष्काशन गर्न सिफारिस गरेको छ ।
एमालेका सचेतक दुर्गा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएको प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिनुभयो ।
एमालेको प्रदेश कमिटीले यसअघि नै प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रकाश बहादुर शाह, माया भट्ट र कृष्णराज सुवेदीलाई पनि साधारण सदस्य नरहनेगरी निष्काशन गर्न सिफारिस गरिसकेको छ ।
शुक्रबार नियुक्त भएका मन्त्रीले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका थिएनन् भने शाह, भट्ट र सुवेदीले स्पष्टीकरण पेस गरेपनि चित्तबुझ्दो नरहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको रावलले बताउनुभयो ।
एमालेले प्रदेशसभामा रहेका १० जना सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सांसद् छन् । उनीहरुमध्ये नेपाल समूहका १८ र ओली पक्षका ६ जना जना छन् । नागरिक खबरबाट