जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयो। यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको हो।जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद संजेलले थप अनुसन्धान गरेर ल्याउन भनिएको बताउनुभयो।

‘सरकारी वकिल कार्यालयले थप अनुसन्धान गरेर मानिसलाई फेरि अनुसन्धान प्रतिवेदनसाथ पेश गर्न भनेर पठाएका हौं। प्रहरीले मन लाग्यो भने राख्न पनि सक्छ, छोड्न मन लागे छाड्न पनि सक्छ र म्याद थपेर लिन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘अहिले फोरेन्सिक टेस्ट गर्नुपर्ने भएको छ। त्यसमा समय लाग्ने भएकोले अनुसन्धानमा नभ्याउला भनेर मानिसलाई आवश्यकताअनुसार हाजिर जमानी वा धरौटीमा छाड भनेको पनि हो।’

यो विषयमा मुद्दा चल्नेरनचल्ने निर्णय भइनसकेको उनले बताए। यस मुद्दामा प्रहरीले जाहेरीवालाले पेश गरेको अडिओ रेकर्ड को कसको सीममा प्रयोग भएको हो र त्यसको प्रदायक कम्पनीबाट कागजातलगायत डिटेल लिएर आऊ र आवाजसहितको पहिचान गरी फोरेन्सिक रिपोर्ट पेश गर्न भनिएको उहाँले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार