काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
शुक्रबार कुराकानी गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यसवर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो वर्षको मनसुनबाट क्षति भएकाहरुको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुने वित्तिकै अस्थाई आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ ।’
उहाँले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि उहाँले जानकारी दिनुभयो । यसवर्ष जेठ २८ गतेसम्म शुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो ।
मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्यालले बताउनुभयो । बाढी पहिरोबाट ४८३ नीजि घरहरु पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आंशिक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तिय संस्थाको भवनमा क्षति भएको पनि उहाँले बताउनुभयो । उहाँले विपदबाट प्रभावितहरूका लागि खोज, उद्दार, राहत तथा पुनःस्थापनाको काम गरिएको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखा सँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्व सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उहाँले बताउनुभयो । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सुचना प्रणाली जडान गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
हाल सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडक खण्डहरु अवरुद्ध भएका र सडक डिभिजन कार्यालय, स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । रातोपाटीबाट