काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्मरकम्पनी तथा उद्योग कारवाहीमा परेका हुन् ।
एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो । विभागको तथ्याङ्कअनुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो ।
कारवाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत रु दुई करोड ३९ लाख ८२ हजार बराबर राजश्व सङ्कलन भएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा रु तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।
पाँच कार्यालयबाट एक हजार ३४७ फर्मलाई कारवाही
विभागअन्तर्गत रहेका पाँच कार्यालय (विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी)ले गत आवमा एक हजार ३४७ व्यापारिक फर्मलाई कारवाही गरेका छन् । ती फर्मलाई कारवाही स्वरुप जरिवाना गर्दा एक वर्षको अवधिमा रु तीन करोड ३३ लाख ७० हजार राजश्व सङ्कलन भएको छ ।
चार हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोवार रोक्का गरिएको थियो । साथै रु तीन करोड ९८ लाख ५३ हजार २५९ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो ।
त्यस्तै चार हजार ४१ अन्य फर्मलाई समेत कारवाही गरिएको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने फर्मलाई कारवाहीस्वरुप आर्थिक जरिवाना गर्दै आएको छ । रासस