ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित

ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् ।

गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताउनुभयो। साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ ।

विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन् ।

भूकम्पपछि सरकारी राहत लिएर बनाइएका घरमा पहिरोका कारण बस्न नमिल्ने भएपछि स्थानीयवासीमा समस्या बढेको पोकलीका निर्मल तामाङले बताउनुभयो । स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरु जोखिममा पर्नुपरेको पीडितले गुनासो गरेका छन् । रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार