कर्णाली डुंगा दुर्घटनामा बेपत्ता तीनमध्ये एक महिलाको शव फेला

सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिनुभयो।

‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौं,’ इन्चार्ज कुमालले भन्नुभयो। कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

१० जना सवार रहेको डुंगा पल्टिँदा दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको एसपी श्रेष्ठले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार