प्रहरीको कुटपिटबाट हिरासतमा रहेका तामाङको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेको ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएपछि उनको आफन्तले बाह्रबिसे बजारमा प्रर्दशन गरेका छन् । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको प्रहरी हिरासतमा मृत्यु भएको थियो ।

तामाङलाई चोरीको आरोपमा गत १८ गते नियन्त्रणमा लिएको थियो । तामाङले आफूले चोरी गरेको स्वीकार गरिसकेका थिए । मृतक तामाङमाथि एक जनाको एक लाख र सहकारी फुटाएर ८१ हजार ७ सय २५ रुपैयाँ चोरी गरेको आरोप छ ।

तर, हिरासतमा रहेको तामाङको मृत्यु भएको र उसको शरिरभरी निलडाम देखिएको थियो । मृतक तामाङको शरिरमा चोटपटक देखिएपछि आफन्तले प्रहरीको कुटपिट पछि मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् । तामाङलाई गत शुक्रबार बिहान धुलिखेल अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार उनी सुरुदेखि नै बिरामी थिए । प्रहरीले भने उनले आफूले चोरी गरेको स्वीकारी सकेकाले कुटपिट गर्नुपर्ने कुनै कारण नभएको जनाएको छ । प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले छानबिन समिति बनाउन लागेको जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार