राष्ट्रपति भण्डारीद्धारा बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त, यादवचन्द्र शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपतिले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव हुनुहुन्थ्यो। अहिले उहाँकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार