प्रेसर कुकरमा बम राख्ने युवक पक्राउ

काठमाडौँ । नेपालीमा एउटा उखान छ– ‘मुखमा रामराम बगलीमा छुरा ।’ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धार्मिक रुपमा पवित्र भनिएको बुद्धचित्तको दाना लिएर बसेका युवाले नै बम राखेको थाहा भएको छ । शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–४ मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाले ढाकेको अवस्थामा फेला परेको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निश्कृय बनाएको थियो ।

बम राखेको आरोपमा प्रहरीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ । नविन साउन ३२ गतेबाट सोही गेष्ट हाउसको ११० नम्बरको कोठामा बसेका थिए । बुद्धचित्तको माला बेच्न बसेका नवीनले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताउनुभयो ।

होटलमा खाएको बसेको रकम ४० हजार पुगेपछि गेष्ट हाउस सञ्चालक शिवशरण भुजुले पटक–पटक मागेको रिसमा ‘बम’ राखेको तामाङले प्रहरीलाई बताएका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई बम फेला परेको केही समयपछि नै पक्राउ गरेको हो । नवीनले आफुले घरबाट कुकर ल्याएर राखेको प्रहरीसँग स्वीकार गरेका छन् ।

सेनाको टोलीले निष्क्रिय पार्दा कुकरमा विष्फोटक पदार्थ फेला परेन । नवीनले ‘तर्साउने नियत’ले मात्र कुकरलाई बम जस्तो बनाएर राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार