काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४३ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय २ जना र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ४७ हजार ४ सय ३३ जनामा र एन्टिजेन विधिबाट ८० हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ४८ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ भने ६ लाख ९८ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५ सय ५५ जना होम आइसोलेसनमा , ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा र ४ सय २१ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८१ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।