काठमाडौं । नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका झलनाथ खनालसहित ७ नेताको सनाखत नहुने भएको छ । एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको हो ।
नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ । तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन भने हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।
दल विभाजनकै पक्षमा यी नेताहरू रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । दल दर्ताको निवेदनमा ज(जसको हस्ताक्षर उनीहरूलाई मात्र बुधबार बोलाइएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताउनुभयो ।
यसअघि झलनाथ खनालले दिल्लीबाटै मन्जुरीनामा पठाउने र प्रदीप नेपाललगायतका नेताले आयोगमा गएर हस्ताक्षर गर्ने भनिएको थियो । तर अब साविक एमालेको २०३ सदस्यीय कमिटीका ५१ जनाकोमात्र सनाखत हुनेछ ।
एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् । नागरिक खबरबाट