काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने हुनुभएको छ । उहाँले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताउनुभयो । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बन्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘बोर्डमा नबस्ने बारेमा आज मैले महासंघलाई जानकारी दिएको छु । सायद महासंघले बोर्डलाई जानकारी दिइसकेको छ ।’ उहाँले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोख्नुभयो ।
‘यसअघि, महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतले शेखरजी पनि बोर्डमा बस्नुभएको थियो । त्यही भएर यो पटक म बसेको हुँ’ उहाँले भन्नुभयो, ‘महासंघमा आउनु अगाडिको विषय यत्रो उचालिन्छ । व्यवसायी भएपछि भोलिका दिनमा अन्य कारोबार पनि गर्नुपर्छ । त्यसैले नबस्ने निर्णय गरेको हुँ ।’
खासगरी, उहाँ सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । ढकालले सेयर खरिद गरेको विषय उठेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जानकारी दिएको थियो । रातोपाटीबाट