काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सांसद्को पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमाथिको सुनुवाइ ‘हेदा हेर्दै’मा राखिएको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको इजलासमा सुनुवाइ नसकिएपछि आज टुंगो नलागेको हो । उक्त मुद्दामाथिको सुनुवाए मंगलबार पनि जारी रहनेछ ।रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विजयकान्त मैनाली, पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित बाबुराम दाहाल, श्रीकान्त बराल, भोजराज आचार्यलगायतले बहस गर्दैछन् ।त्यस्तै, विपक्षबाट वरिष्ठ अधिवक्ताहरु सम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, गोविन्द बन्दीलगायत छन् ।
एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ सांसद्लाई निष्कासन गरेको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधवकुमार नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिइसकेपछि मात्र संसद् सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँस्यो ।
एमाले अध्यक्ष ओलीले पार्टीबाट कारबाही गरिएका १४ सांसद्समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । पार्टीले कारबाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसद्लाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ । नागरिक खबरबाट


























