अविरल वर्षाका कारण सुदूरपश्चिममा डुबान र बाढी

कैलाली । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो । धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् ।

धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिनुभयो । कैलालीको खुटिया, मोहना, कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ तर उद्धार गर्नुपर्ने सूचना नआएको बिष्टले बताउनुभयो । पहाडी जिल्ला जोड्ने चुरे गाउँपालिका–३ सल्लेरी भासु भिर नजिक पहिरो जाँदा बाटो अवरुद्ध भएको र पहिरो हटाउने प्रयास भइरहेको जानकारीसमेत उहाँले दिनुभयो ।

त्यस्तै महाकाली नदीमा आएको बाढीका कारण भिमदत्त नगरपालिका–९ को खल्ला, वडा नम्बर १२ को ऐरी घाट, १३ को बढैपुर र पिपरैयाका २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिनुभयो।सो क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका छन् । दार्चुला क्षेत्रमा अबिरल पानी परेकाले महाकाली नदीको बहाब बढेको भन्दै सतर्कता अपनाउन कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने वर्षाका कारण भएको क्षतिको विवरण नआइसकेको जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार