सिन्धुलीको दुधौलीमा जंगली हात्तीले ६ घर भत्कायो

सिन्धुली । दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा जंगली हात्तीले थप ६ घर भत्काएको छ । हात्तीले माथिल्लो पत्रिङ्गामा शनिबार राति ६ घर भत्काएको वडाध्यक्ष कुमार लामाले जानकारी दिनुभयो। माथिल्लो पत्रिङ्गाकाका आना सदा, जोगेन्दर सदा, शुक्र सदा, मन्जु धामी, राजु धामी र लक्ष्मी धामीको घर तीन वटाको संख्यामा आएको जंगली हात्तीले भत्काएर नष्ट पारेको छ ।

हात्ती आएको संकेत पाउनासाथ रातभर लुकेर परिवारले ज्यान जोगाएको वडाध्यक्ष लामाले जनाए । जंगली हात्तीले घर भत्काउनुका साथै भण्डारमा राखेको धान, अन्य अन्नबाली, केरालगायत फलफूल नष्ट गरिदिएको छ । टायलको छाना लगाएको घर भत्काउँदा भाँडावर्तन र लत्ताकपडासमेत नष्ट भएको पीडित परिवारले बताएका छन् । अहिले पनि हात्ती बस्ती नजिकै लमाहा खोल्सीमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् ।

आगोको धुनी जगाएर स्थानीयहरु हात्तीबाट जोगिन जाग्राम बस्ने गरेका छन् । एउटा ठूलो र दुई साना हात्ती कमलाखोंच क्षेत्रको जंगलमा तीनदिन अघिदेखि देखिएर स्थानीयको घर भत्काउनुका साथै अन्नपात खाइदिने र नष्ट गरिदिने गरेको छ । जंगली हात्तीको त्रासले स्थानीयहरु घाँस दाउराका लागि जंगल छिर्न सकेका छैनन् । हात्ती दिउँसो जंगलमा बस्ने राति बस्तीमा छिरेर घर भत्काइ उपद्रो मच्चाउने गरेका छन् ।

रात पर्नासाथ डरत्रासमा रहेका स्थानीय पूर्व-पश्चिम दुवैतिरबाट आगोको धुनी जगाउने भएकाले हात्तीले आफ्नो बाटो छाडेर बस्ती पसेको भन्दै वडाध्यक्ष लामाले जंगली हात्तीले दुस्ख दिएको जानकारी डिभिजन वन कार्यालयलाई गराएको जनाउनुभयो । डिभिजन वन कार्यालय सिन्धुलीले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट वर्षेनी जंगली हात्ती स्थानान्तर हुनेक्रममा आएको हुनसक्ने भएकाले सुरक्षित रहि अवरोध नगर्न सूचना जारी गरेको छ ।

डिभिजन वन प्रमुख थीरबहादुर कार्की हात्ती हिँड्ने बाटोमा अवरोध सिर्जना नगरे आफ्नो बाटो लाग्ने बताउनुभएको छ । भन्नुहुन्छ, ‘अहिलेसम्म मानवीय क्षति पुर्‍याएको छैन । सतर्क रहेर जंगली हात्तीलाई आफ्नो बाटो लाग्न दिनु नै बुद्धिमानी ठहर्छ ।’गत वर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुई दर्जनभन्दा बढी घर भत्काएर क्षति पुर्‍याएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार