
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले आगामी बैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्च गरेको भन्दै अविलम्ब निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ ।
उहाँले सरकारमा सामेल राजनीतिक पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको आरोप समेत लगाउनुभएको छ । ‘निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने
लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ’, सचिव विष्टले शुक्रबार सामाजिक सञ्जालमार्फत भन्नुभएकोे छ, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन ।’ उहाँले लोकतान्त्रिक अभ्यासबाट नभाग्न सुझाव दिदै संविधानको कार्यान्वयनका लागि अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभएको छ। रातोपाटीबाट