उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।
त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक डुबेका थिए। अभिभावकले बालकलाई खोज्ने क्रममास् अचेत अवस्थामा डुबिरहेका भेटेपछि उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ।
उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रासस