जुम्ला । जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका–७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।
यसैगरी तातोपानी गाउँपालिका–८ मा १८ देखि ५५ जना मानिस हिउँमा फँसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी (खिरौलो) कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’
उहाँले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएका मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताउनुभयो । नागरिक खबरबाट