
काठमाडौँ । भन्सार विभागको एजेन्टको परीक्षा फागुनको अन्तिम साता हुने भएको छ । भन्सार विभागले गत वर्ष २०७७ सालको चैत १६ गते आवेदन खुलाएको एजेन्टको परिक्षा फागुन २८ गते हुने भएको हो ।
करिब एक वर्ष अघि खुलाइएको आवेदन कोरोना महामारीका कारण रोकिँदै आएको थियो । कोरोनाले यही वर्ष २०७८ को जेठ २२ गते र माघ २९ गते तोकिएको परीक्षा रद्द गर्नुपरेको थियो । जेठको मिति डेल्टाले र माघको मिति ओमिक्रोनका कारणले रद्द गर्नुपरेको विभागले बताएको छ ।
विभागले भन्सार नियमावली, २०६४ को नियम ३७ (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आह्वान गरेको थियो । तर, महामारीका कारण लिखित परीक्षा पटक–पटक स्थगित हुँदै आएको थियो । तोकिएको नयाँ मितिअनुसार एजेन्टको परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुनेछ । यसका लागि विभागले लोकसेवा आयोगसँग परीक्षा केन्द्र खोजिदिन आग्रह समेत गरिसकेको प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । रातोपाटीबाट