काठमाडौँ । भक्तपुर स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाउनुभएको छ । केही दिन अगाडि मन्त्रालयले उहाँलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ, तर तल्लो निकायमा गरिएको सरुवा गरेर मेरो अपमान गरिएको छ’, उहाँले भन्नुभयो ।
सरकारको मूल्याङ्कनमा ३८ अंक प्राप्त गरेको अस्पताललाई आफूले ८२ अंक आउने बनाएको र एउटा आइसीयू नभएको अस्पतालमा हाल ३६ शैयाको आइसीयु अस्पताल बनाउँदा पनि मूल्यांकन नभएको उहाँको गुनासो छ । देश र जनताको सेवा गर्न थालेको १४ वर्ष भयो, जसमा १२ वर्ष राजधानी बाहिरका जिल्लामा बसेर काम गरेँ, पहुँच हुने र भनसुन गर्नेलाई सधैँ सहज अनि हामीजस्ताको भने अवमूल्यन हुने रु’ डा. गौतमले आक्रोश पोख्नुभयो ।
बाँके, सिरहा, सिन्धुली जिल्लाका अस्पतालमा उहाँले काम गरिसक्नुभएको छ । उहाँको कार्यकालमा सिन्धुली अस्पताल दुई पटक उत्कृष्ट अस्पताल भएको थियो । भक्तपुर अस्पताललाई पनि प्रदेश सरकारले उत्कृष्ट अस्पताल भन्दै पुरस्कृत गरेको थियो । सरुवामा पुर्नविचार नभए बिदा अवधि सकिएपछि सरकारी सेवाबाट राजीनामा दिने तयारीमा रहेको उहाँले बताउनुभयो । ratopati