काठमाडौं । काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्। प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ। नेपाल प्रहरीको विशेष ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले यसबारे आधिकारिक रूपमा जानकारी दिएको छैन। ती व्यक्तिहरूलाई वृत्तको टोलीले मंगलबार काठमाडौं जिल्ला अदालत लगेको छ।
‘अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बाँकी कुरा सार्वजनिक गरिने छ,’ एक प्रहरी अधिकृतले भन्नुभयो।बरामद भएको सो पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ।
के हो युरेनियम ?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो।युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५। प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ। एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।
नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ। युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ। सेटोपाटीबाट