
नेपालगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ।
निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताउनुभयो। राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासित बनाउन सके बिग्रँदै गएको संस्कार र संस्कृतिलाई लयमा फर्काउन सकिने बताउनुभयो। मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐनमा शिक्षामैत्री बन्ने जिकिर पनि गर्नुभयो । आजदेखि सुरु भएको सातौं महाधिवेशनले भोलि नयाँ नेतृत्व छान्ने छ। २०५४ सालमा स्थापना भएको संस्था हाल ४७ जिल्लामा फैलिएको छ। nagariknews.nagariknetworkबाट