
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसदबाट पारित हुने बताएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण विधेयक दलीय सहमतिबाट संसदमा पेश र पारित गर्नुपर्ने भन्दै एमाले संवेदनशील भएमा केही दिनमा विधेयकहरु पारित हुने बताउनुभयो।
यो यस्तो विषय छ, जहाँ दलीय रुपले सहमति बनाएर छलफलबाट पेश गर्नुपर्छ र दलीय सहमति बनाएर निश्कर्षमा पुर्याउनुपर्छ’ उहाँले विधेयकहरुबारे भन्नुभयो, ‘हेरौं उहाँहरु यसमा संवेदनशील भइदिनुभयो भने केही दिनमा महत्वपूर्ण विधेयक प्रक्रिया अनुसार पारित हुन्छ ।’
जनताका जल्दाबल्दा समस्यासम्बन्ध विधेयक विचाराधीन रहेको भन्दै उहाँले ती विधेयकमाथिको छलफलमा एमाले सहभागी हुनुपर्ने बताउनुभयो । जनताका जल्दाबल्दा विषयहरु अध्यादेशमार्फत विचाराधीन छ, अगाडि बढ्न सकेका छैनन् नाराबाजी छाडेर त्यसमा केन्द्रित बन्नुस् हाम्रो आग्रह छ’ मन्त्री बडुले भन्नुभयो ।
एमाले जिम्मेवार बनेमा संसद मार्फत जनताप्रतिको उत्तरदायित्व पूरा हुने उहाँले बताउनुभयो । ‘जनताका यति महत्वपूर्ण समस्या जो बल्झिएका छन्, त्यसलाई संसदमा मुखरित गर्नुपर्छ सरकारलाई जिम्मेवार बनाउन उहाँहरु आइदिनुपपर्छ । छलफलमा भाग लिनुपर्छ । त्यस्तै सबै विधेयकको छलफलमा उहाँहरुको सहभागिता हुनुपर्छ’ मन्त्री बडुले भन्नुभयो । अनलाइनखबरबाट