मोरङका दुई पालिकामा जसपा–माओवादी तालमेल

विराटनगर । मोरङका दुई पालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै गठबन्धन गरेका छन् । सिट बाँडफाँटको विषयमा नेपाली कांग्रेससँग सहमति नजुटेपछि माओवादी र जसपाले सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा गठबन्धन गरेका हुन् ।

जसपाको प्रभाव क्षेत्र रहेका दुई पालिकाको प्रमुख जसपाले पाएको छ । उपप्रमुख र उपाध्यक्ष माओवादीले पाएको छ । मोरङको लेटाङ नगरपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती गठबन्धनका नाममा नेपाली कांग्रेसले धोका दिएको बताउँनुहुन्छ । गठबन्धनमा रहेका दलहरुले सहमतिका लागि पटक–पटक वार्ता गरेका थिए । तर कांग्रेसका कारण निष्कर्षमा नपुगेको माओवादीको दाबी छ ।

नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे गठबन्धनका लागि स्थानीय तहबाट नै प्रयास भइरहेको बताउँनुहुन्छ । जिल्ला तहबाट प्रयास गर्दा गठबन्धन हुन नसकेको उहाँले बताउनुभयो । गठबन्धन नहुने अवस्था आएपछि कांग्रेसले सबै पालिकामा उम्मेदवारी दर्ताको तयारी गरेको छ । सचिव घिमिरेका अनुसार सबै पालिकामा उम्मेद्वार छनोटका लागि छलफल भइरहेको छ । माओवादी केन्द्रले उम्मेदवारी दिने र गठबन्धनका लागि मनोनयन फिर्ताको समयसम्म प्रयास गर्ने तयारी गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार