आशा छ भरतपुरमा बागी उम्मेदवारले विवेकसम्मत निर्णय गर्नुहुनेछ : गृहमन्त्री खाण

चितवन । भरतपुरमा बागी उम्मेदवारलाई ‘फकाउन’ नसकेपछि कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ फर्किनुभएको छ ।

भरतपुर मेयरका बागी उम्मेदवार जगन्नाथ पौडललाई फकाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री खाण र श्रेष्ठ बुधबार (वैशाख १४) चितवन आएका थिए । काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा संक्षिप्त कुरा गर्दै खाणले बागी उम्मेदवारले विवेकसम्मत निर्णय लिने आशा व्यक्त गरेको बताउनुभयो ।

‘हामीले पार्टीका तर्फबाट चितवनका साथीहरूसँग कुरा राख्यौं। उहाँहरूको कुराहरू पनि सुन्यौं । आशा छ उहाँहरूले विवेकसम्मत निर्णय गर्नुहुनेछ।’बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उहाँलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । पौडेलले उक्त आग्रह अस्वीकार गर्नुभएको थियो । बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भन्नुभएको थियो ।

जवाफमा पौडेलले आफू धेरै अघि बढिसकेको र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने बताएका थिए।पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पाममा बोलाएका थिए तर पौडेल आउन मानेनन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार