सत्तारुढ दलहरूको गठबन्धन निर्वाचनको मजाक : महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गर्नुभएको छ । नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप समेत लगाउनुभयो ।

शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गर्नुभयो । देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाई थियो । उहाँले भन्नुभयो, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेका हुन् ।

यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ । यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आइरहेको छ ?  सरकारी पार्टीहरुले जुन गठबन्धन गरेका छन, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो ? देश र दुनियाँले के बुझ्ने हो ? त्यसैले जनताले पार्टीको आधारमा चुनाव गराउने हो भने काँग्रेस पार्टीलाई कुन पालिका, कुन वडामा जनताले कति भोट दियो, माओवादी, जसपा, यी पार्टीहरूलाई जनताले कसरी समर्थन गर्यो भनेर कसरी बुझ्ने हो रु दलीय सिस्टम हो त्यो ? ’

उहाँले थप भन्नुभयो, ‘त्यसैले स्थानीय तह गठबन्धन गरेर जनताको मत कहाँ दियो, त्यो पनि पत्तो लाग्न नदिने प्रक्रिया निर्माण गरियो । त्यो गलत गर्यो क्या । हामी यही मान्यताको आधारमा गठबन्धन गर्नुपर्छ भनेर गएनौं । स्थानीय पार्टीले सकिन्छ भने गठबन्धन गर्न सक्छन । तर हामीले धेरै महत्व दिएका छैनौं ।’नेता महतोले दलीय सिस्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गर्नुभयो । उहाँले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार