जनकपुरवासीले मलाई जिताउँछन् : मनोज चौधरी

जनकपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जितेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । यो पार्टीले यसपटक मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई उम्मेदवार बनाएको छ । लोसपाले मिश्रलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो ।

मेयरका उम्मेदवार चौधरी मूलतः व्यवसायी हुनुहुन्छ । उहाँ पटक–पटक जनकपुर अञ्चल बस व्यवसायी संघ र ग्याँस व्यवसायी संघका अध्यक्ष रहिसक्नुभएको छ । उद्योग वाणिज्य संघ र पेट्रोलियम डिलर्स एसोसिएसनका सदस्यदेखि राम युवा कमिटीका निर्देशकसम्मको पद सम्हालिसकेका उहाँ २०७० देखि राजनीतिमा आउनुभएको हो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) बाट उम्मेदवार बनेर हारेका चौधरी त्यसपछि राजपा हुँदै अहिले लोसपामा हुनुहुन्छ । राजनीतिशास्त्रमा स्नातक उनी पहिलो पटक मेयर पदका प्रतिस्पर्धी बन्नुभएको हो । उहाँले मेयर हुने तयारी एक वर्षअघि नै थाल्नुभएको थियो ।

‘म जुन रूपले भए पनि जनकपुरवासीकै बीचमा छु,’ चौधरी भन्नुहुन्छ, ‘झुट नबोल्ने, कसैलाई कुनै किसिमको दुःख नदिने र सहयोग गर्ने भएकोले यहाँका जनताले मेयरमा मलाई नै जिताउँछन् ।’जनताकै सम्पर्क र सल्लाहमा आफू उम्मेदवार बनेको उहाँ बताउँनुहुन्छ । कसैलाई परेको समस्यादेखि बिहेबारीसम्मका काममा १५ वर्षदेखि जनकपुरवासीको सहयोगी बनेर काम गर्दै आएकोले मेयरमा आफ्नो जित हुने उहाँको दाबी छ ।

आफू जिते सबभन्दा पहिला फोहोर तह लगाउन ल्याण्डफिल साइटको व्यवस्था गर्ने उहाँले बताउनुभयो । जनकपुरधामलाई हरियालीपूर्ण बनाउने, शिक्षा र स्वास्थ्यको स्तर उकास्ने, युवालाई खेलकुदमा अभिप्रेरित गर्ने, उद्योग र पर्यटन विस्तार गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लगायत प्रतिबद्धता उहाँले घोषणापत्रमा गर्नुभएको छ । काम गर्न सक्ने जति मात्र बोल्छु । विगतमा पनि बोलेको जति गरेको छु,’ चौधरी भन्नुहुन्छ, ‘त्यही भएर यहाँ हिजो पनि निर्वाचन चिह्न साइकलले जितेको थियो, यसपटक पनि साइकल छापले जित्छ ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार