एमालेले जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गनुभएको छ ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताउनुभयो । उहाँले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव जीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भन्नुभयो, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’ उहाँले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिनेसमेत बताउनुभयो ।

‘बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहयोग गरिने छैन । बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँ,’ देउवाले भन्नुभयो, उम्मेदवारी फिर्ता नलिएको खण्डमा कारवाही गर्नेछौँ ।’उहाँले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा यहाँ लागि प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । उहाँले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गर्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार