थम्मन थापा
बागलुङ ,आइतबार मंसिर १ गते ।
दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ ।
यसको लागि अहिले आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत गलकोट देखि पर्यटकीय नगरी ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो । हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ ।
महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिनुभयो । महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताउनु भयो । झण्डै १३ वर्ष पछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च गर्नु पर्छ त ?
न्युनतम ५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने छ । २ सय जना भन्दा बढि भएमा ६ हजार ५ सय रुपैया लाग्ने बताईएको छ । गलकोट घुम्न पाईने भएको छ । त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ । गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर कुन कुन दिन उडान हुन्छ त हेलिकोप्टर ?
हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानको लागी महोत्सवको टाईटल स्पोन्सर प्रभु ग्रुप सँग सम्झौता गरिसकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा प्रभु हेलिकोप्टरले उडान भर्ने छ । त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको हेलिकोप्टर व्यवस्थापन समितिका संयोजक सुवेदीले बताउनु भयो ।
महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकोप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जानकारी दिनुभयो । गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने अवसर पहिलो भएकोले पनि निकै आर्कषणको रुपमा हेरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने बताईएको छ । हेलिकोप्टरको टिकट बुकिङ गर्न ९८५११७३५८५ मा सपर्क गर्न सकिने छ भने अनलाईनबाट टिकट बुकिङ गर्न तल रहेको लिङ्कमा किल्क गर्नु पर्ने हुन्छ ।