बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरका पहिरो पीडितलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । गत असोज १० गते बिहान राति खसेको पहिरोले विस्थापित पीडित परिवारलाई वडा कार्यालयले दैनिक उपभोग्य खाद्यन्न सामग्री सहयोग गरेको हो । पीडित कुमारी घर्ती ,काले कामी ,रबिलाल घर्ती र लालबहादुर सुनारलाई वडा अध्यक्ष भेजेन्द्रमान पुनले शुक्रबार उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो । दसैंको मुखमा पहिरो पीडितलाई केही राहत पु¥याउने उद्धेश्यले वडा कार्यालयले चामल ,दाल ,नुन लगायत दैनिक उपभोग्य खाद्यन्न सामग्री सहयोग गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । यसअघि पनि कांग्रेस म्याग्दी ,जिल्ला विपद् व्यवस्थापन समिति ,रेडक्रस लगायतले पीडित परिवारलाई राहत सहयोग गरेका थिए । पुर्नवासको लागि पहल भइरहेको वडा अध्यक्ष पुनको भनाइ छ ।

गाउँ माथिबाट खसेको पहिरोले म्याग्दीको महभिरमा तीन घरपरिवार विस्थापित भएका छन् भने १९ घर उच्च जोखिममा रहेका छन् ।वडा सदस्य गर्भे गुरुङका अनुसार स्थानीय काले कामी, रबिलाल घर्ती र कमारी घर्ती मगरको घरमा पूर्ण क्षति पुर्याएपछि विस्थापित परिवार आफन्तकोमा बस्नुभएको छ । पहिरोले रबिलालको गोठमा रहेका एक राँगो र एक गोरु मरेका थिए ।पहिरोले पानीको मुहान, टङ्की र पाइपमा क्षति पुर्याएपछि गाउँमा खानेपानीको समस्या भएको छ । भिरालो जमिन र कमजोर भूगोलका कारण पहिरोले ठुलो क्षति पुर्याएको छ । जमिनमा धाजा फाटेको छ । दुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । गाउँको बिचमा ठुला–ठुला खोल्सी बनाएको छ । खेतमा लगाएको कोदो र भटमासबाली समेत क्षति पुर्याएको छ भने महभिर च्युरीबोट सडक समेत अवरुद्ध भएको छ ।
त्यस्तै, अन्य उच्च जोखिममा रहेका केही परिवार समेत छिमेकमा सरण लिएर बस्नुभएको छ । गाउँमाथि सिद्ध थानको भिरबाट खसेको पहिरोका कारण सबहादुर घर्ती, सबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गङ्गाबहादुर कामी, वीरबहादुर कामी, गोरे कामी, कुलप्रसाद घर्ती, भिमप्रसाद सुनार, पोबिसरा सुनार, सुप्तिरा सुनार, मुक्तीराम सुनार, रोमन घर्ती, तेकलाल शिर्पाली, शेरबहादुर सुनार, गङ्गु घर्ती, मनमाया घर्ती, जितबहादुर शिर्पाली र चन्द्रबहादुर पुनका घर उच्च जोखिममा रहेका वडा सदस्य गुरुङले बताउनुभयो ।


























