अझै सुचारु भएनन् अवरुद्ध म्याग्दीका प्रमुख सडक

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२, को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएपछी शनिबार बेलुकीसम्म सडक खुलाउने प्रयास सम्भव नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार