गलेश्वर । साउन महिनाको पहिलो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन र पुजाआजा गर्ने भक्तजनको भीड लागेको छ । विगत वर्षहरुमा भन्दा यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि दर्शन र पुजा गर्ने भक्तजनको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।
भिडिओ हेर्नुहोस्…

गलेश्वर शिवालय क्षेत्र विकास कोषले बिहान ५ बजे बाटै पुजाअर्चनाका लागि बन्दोबस्त मिलाइएको छ । गलेश्वर मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी २३ वटा उपसमिति गठन गरिएको छ । मन्दिरमा विद्यार्थी ,शिक्षक ,प्रहरी ,सामुदायक प्रहरी,क्लब तथा स्थानीय आमा समुहले सेवा दिएका छन् । पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी स्वयंसेवक परिचालन गरिएको छ । शिवालयको कार्यालय नजिकै स्वास्थ्य हेल्पडेस्क राख्नुका साथै आवश्यक सूचना समन्वयका लागि पनि आवश्यक प्रवन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ । चक्रशीलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ ।

साउन महिनाको पहिलो सोमबार गलेश्वरधाममा चक्राकार जलबराहकुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वासले गलेश्वरधाम दर्शन गर्न आएको म्याग्दीको मालिका गाउँपालिका–४,सिस्नेरीकी सेरु बुढाथाेकीले बताउनुभयो । सोमबार पर्वत बागलुङ,काठमाडौं ,पोखरा ,चितवन ,वुटवल, भैरवा धादिङ लगायत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आएका छन् । मनोकांक्षा पुरा हुने विश्वासले दर्शन गर्न आएको बेनीका नेत्रराज सुवेदीले बताउनुभयो । यहाँ साउने सोमबार ,महाशिवरात्री र बालाचतुर्दशीमा पनि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो द्वार मुक्तिद्वारको रुपले समेत चिनिन्छ ।पूर्वमा कृष्ण गण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखार , धौलगिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी रहेका छन् ।

















































