बर्दियाका गैंडा पानी खाेज्दै भारतीय आरक्षतिर

  म्याग्दी न्युज संवाददाता

बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पलायन भइरहेको निकुञ्जले जनाएको छ । बर्दियाबाट बाहिरिएका बीसभन्दा बढी त्यस्ता गैंडा अहिले कतरनियाघाट आरक्षमा गएको बताइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पानीको खोजी गर्दै भारतीय आरक्षतर्फ गएको हुन सक्ने निकुञ्जको भनाइ छ । निकुञ्जको भँगालो गेरुवा नदीमा जलस्तर घट्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या भएको हो ।

यहाँका २० भन्दा बढी गैंडा भारतीय आरक्षमा पसेको अनुमान गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले बताउनुभयो । ‘पानीको समस्याले यहाँका गैंडा भारतीय सीमावर्ती आरक्षमा पुगेका हुन्,’ उहाँले भन्नुभयो, ‘गैंडा लगायत वन्यजन्तु एकै ठाउँमा बस्ने नभएकाले ती गैंडा फर्केर आउँछन् भन्ने विश्वास छ ।’

गैंडा भारतमा भएको जानकारी पाउनासाथ बर्दिया राष्ट्रिय निकुञ्जले एक सातायता गैंडाको अनुगमन सुरु गरेको छ । यस सम्बन्धमा निकुञ्जका अधिकारीसँग सम्पर्क राख्दा बोल्न चाहनुभएन । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जले चैत महिनाको पहिलो साता गैंडा गणना गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

सन् २०२२ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैंडा थिए । तीमध्ये तीन वटा गैंडाको प्राकृतिक कारणले मृत्यु भइसकेको छ । खाता जैविक मार्गबाट हात्ती, बाघ, गैंडा लगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् । खाता जैविक मार्ग डिभिजन वन कार्यालयअन्तर्गत रहेको छ । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार