सिङ्गामा महिलाहरुलाई सौन्दर्यकलाको डिप्लोमा तालिम सुरु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनको लागि सौन्दर्यकला सम्बन्धी डिप्लोमा तालिम सुरु भएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको हो ।

म्याग्दीको बेनी नगरपालिका–४, नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरणमा सिङ्गाको शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाको शिक्षा अधिकृत कमलप्रसाद ढकालले तालिमपश्चात् सिप सिकेर आत्मनिर्भर बन्न महिलाहरुलाई सुझाव दिनुभयो । उहाँले निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई श्रम र सिपसँगै स्वरोजगार बनाउने सामुदायिक सिकाइ केन्द्रको उद्देश्य रहेको बताउनुभयो ।

बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिला दिदीबहिनीहरुलाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले तालिममा सहभागी महिलाहरुले प्रभावकारी रुपमा तालिम लिएर पेशा तथा व्यवसाय सञ्चालन गरी आफू आत्मनिर्भर बन्नुपर्ने बताउँदै सौन्दर्यकला सम्बन्धी तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो ।

साधारणसभाको अवसरमा शिवालय सामुदायिक सिकाइ केन्द्रका सदस्य रामप्रसाद शर्माले केन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका ४ नम्बर वडाका वडा सदस्य केन खत्री र तालिमका प्रशिक्षक सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरका सञ्चालक गंगा थापा कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम शिवालय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको अध्यक्षता, सदस्य सन्दीपा शर्माको स्वागत र सामाजिक परिचालक सीता थापा कुँबरको सञ्चालनमा सम्पन्न भएको थियो । सौन्दर्यकला सम्बन्धी तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुको सहभागिता रहेको छ भने गतवर्ष आधारभूत तालिममा सहभागी भएका महिलाहरुलाई यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमाको तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार